काठमाडौं । रामेछापको मन्थली नगरपालिकाले पर्यटन प्रवर्द्वन र विकासको निम्ति तिनै तहका सरकार र सरकारवाला निकायहरु विचको अन्तरक्रियात्मक छलफल तथा वहस कार्यक्रम सम्पन्न गरेको छ । सनिबार नगरपालिकाले काठमाडौँ स्थित पर्यटन बोर्डमा पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले रामेछाप जिल्ला पर्यटनको लागि सम्भावना भएको जिल्लाका रुपमा रहेको बताउँदै पर्यटकीय पूर्वाधार विकासमा सरकारका तर्फबाट आवश्यक सहजीकरण गर्ने बताए ।
बागमती प्रदेशको वन, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले पर्यटन रामेछापको मन्थली विमानस्थललाई बाह्रै महिना सञ्चालन गर्नका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । सँगै गर्मी भएको र आवश्यक होटल पूर्वाधारको अभाव रहेको कारण मन्थलीमा पर्यटक राख्न नसिकएको भन्ने पर्यटन व्यवसायीको भनाईमा पूर्ण सहमत हुन नसकिने बताउँदै रामेछापका सांसद श्रेष्ठले मन्थलीमा होटल पूर्वाधारसहित विमानस्थलमा समेत एसीको व्यवस्था भएको जानकारी गराए । उनले भने, ‘गर्मीबाट पर्यटक भगाउनुपर्ने अवस्था छैन, मन्थलीका होटलमा १५० बढी एसीसहितका कोठाहरु छन्, विमानस्थलमा पनि एसी राखिएको छ । होटलहरु केही अव्यवस्थित भएपनि पर्यटक राख्नै नसकिने भन्ने होइन ।’
पूर्वराज्यमन्त्री श्यामकुमार श्रेष्ठले रामेछाप र मन्थलीमा केही पनि छैन भन्ने गलत भाष्य निर्माण गरिएको भन्दै यसलाई चिर्न आवश्यक रहेको बताए । सिन्धुलीको दुम्जा र रामेछापको भँगेरीलाई जोडेर पर्यटन विकास गर्न सकिने उनको भनाइ थियो ।
त्यस्तै मन्थली नगरपालिकाका मेयर लब श्रेष्ठले मन्थली विमानस्थललाई नियमित सञ्चालनका लागि मन्त्रिपरिषद वा सम्बन्धित निकायबाट निर्णय गराउन पहल भइरहेको र यसका लागि साथ दिन सबै राजनीतिक दलका प्रतिनिधिसहित व्यवसायीहरुलाई आग्रह गरेका छन् । श्रेष्ठले नगरका पर्यटकीय गन्तव्यहरुको पहिचान गर्दै, पूर्वाधारको विकास र तिनको प्रचारप्रसार गर्दै जाने योजना बनाएको जानकारी गराउँदै स्थानीय तहले गर्न सक्ने जति सबै पहल गर्न नगरपालिका तयार रहेको बताए ।
कार्यक्रममा सहभागी पर्यटन बोर्डका उपाध्यक्ष राप्रसाद सापकोटा , टानका अध्यक्ष नीलहरि बाँस्तोला, पर्यटन बोर्डका पूर्व सदस्य राजेन्द्र सापकोटा, पाटा नेपाल च्याप्टरकी सदस्यसमेत रहेकी पर्यटन व्यवसायी सरिता लामा, नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुर राज पाण्डे, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल र वायुसेवा सञ्चालक संघका कार्यकारी निर्देशक राधाकृष्ण थापा लगायतले मन्थली विमानस्थलको स्थायित्वका लागि पहल गर्न सबै राजनीतिक दल र सरोकारवालाई आग्रह गरेका छन् । राज्यले पूर्वाधार बनाएपछि निजी क्षेत्रले लगानी गर्ने भएकाले निजी क्षेत्रलाई लगानीको प्रतिफल प्राप्त हुन्छ भनेर आकर्षित गर्नुपर्ने उनीहरुको भनाइ छ ।