रामेछाप । नेपाली कांग्रेस रामेछापमा पार्टीभित्रको विवादले उग्ररुप लिएको छ । रामेछाप कांग्रेसका नेताहरु ज्यान मार्ने मुद्दामा मुछिएका छन् । ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा एक प्रदेशस्तरीय नेता र अर्का नेवि संघका केन्द्रीय सदस्य पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेपाली कांग्रेस बागमती प्रदेश सदस्य जितबहादुर मगर र नेवि संघका केन्द्रीय सदस्य चन्द्रबहादुर थापा मगर रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले शुक्रबार काठमाडौँको कोटेश्वोरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि रामेछाप जिल्ला प्रहरी कार्यालयमा पठाईएको छ ।
उक्त घटनामा अन्य ६ जना फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार हुनेमा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि भरतप्रसाद चौलागाईं, महासमिति सदस्य जितेन्द्रकुमार मोक्तान, जिल्ला उपसभापति नवराज थोकर, जिल्ला पार्टी सचिव विनोद कार्की, रामेछाप प्रदेश ख क्षेत्रीय सचिव बेनबहादुर थापा मगर र पूर्व जिल्ला सचिव विष्णु बस्नेत रहेका छन् ।उनीहरुलाई प्रहरीले खोजी गरिरहेको छ ।
यो कारणले भएको थियो नेपाली कांग्रेसमा विवाद र झडप
२०८१ जेठ ५ गते नेपाली कांग्रेसको भातृ संगठन आदिवासी जनजाति महासंघको रामेछाप जिल्ला अधिवेशनमा आसन ग्रहणका क्रममा विवाद हुँदा केही नेता कुटिएका थिए भने केहीलाई कार्यकर्ताले लखेटेका थिए ।
खाँडादेवी गाउँपालिका वडा नम्बर ८ स्थित गाल्बा बजारमा जेठ ५ मा आयोजित जनजाति महासंघको प्रथम जिल्ला अधिवेशन उद्घाटन सत्रमै झडप भएपछि कार्यक्रम स्थगित भएको थियो ।
भागेका केही नेता हेलिकोप्टर मगाएर काठमाडौं फर्कियाका थिए भने सांसद तथा जिल्ला सभापति कान्छाराम तामाङलाई प्रहरीले सुरक्षितरुपमा मन्थली लगेको थियो ।
अधिवेशनमा आसनग्रहणको विवाद भएर कुटपिटमा परिणत भएको जानकारी आएको रामेछापका डिएसपी प्रदिपकुमार सिंहले बताएका थिए । उनका अनुसार जितवहादुर मगर र बेनवहादुर तामाङ घाइते भएका थिए ।
जितवहादुर मगर २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यका उम्मेदवार थिए भने हाल कांग्रेस वागमती प्रदेश सदस्य हुन् । कार्यकर्तालाई भेदभाव गरेको आरोप लगाउँदै महाधिवेशन प्रतिनिधि भरत चौलागाई र जिल्ला कार्य समितिका उपसभापति नवराज थोकरलाई आक्रोशित कार्यकर्ताले गाल्बाबाट लखेटेका थिए ।
लखेट्नेक्रममा ढुंगामुढा भएको थियो भने कुटाइबाट केही नेता रक्तामत्य भएका थिए । चौलागाई र थोकरप्रति पहिलेदेखि नै कार्यकर्ता असन्तुष्ट रहेको र लोकप्रिय व्यक्तिलाई नेतृत्व नस्वीकार्ने भनेपछि विवाद बढेको कार्यक्रमका एक सहभागीले बताएका थिए । कुटाकुटपछि कार्यक्रम स्थगित भएको थियो ।