
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले गरेको कारबाहीविरुद्ध गण्डकी प्रदेश सभाका सदस्य तथा नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
‘ह्विप’ उल्लङ्घन गरी देवकोटाले गएको जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए त्यसपछि माओवादी केन्द्रले उनलाई ‘ह्विप’ उल्लङ्घन गरेको भन्दै कारबाही गरेको थियो । कारबाहीबारेको निर्णय जेठ ३२ गते सभामुख कृष्णप्रसाद धितालले गण्डकी प्रदेश सभा बैठकमा पढेर सुनाएपछि देवकोटा पदमुक्त भएका थिए । जेठ २८ गते मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका उनले भोलिपल्ट नै ऊर्जामन्त्रीको सपथ खाएका थिए ।
देवकोटाले आज सर्वोच्चमा दायर गरेको रिटमा आफूलाई माओवादी संसदीय दलले गरेको कारबाही र त्यस आधारमा सभामुख धितालले प्रदेश सभामा वाचन गरेको पत्र खारेज गर्न माग गरेका छन्। नेपाल समाजवादी पार्टी (नेसपा) का देवकोटा गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचित भएका थिए ।
