रामेछाप । आर्थिक वर्ष २०७९/०८० मा रामेछापको दुई नगरपालिका र ६ गाउँपालिका सहित ८ स्थानिय तहमध्ये सबैभन्दा बढी बेरुजु खाँडादेवी गाउँपालिकाको देखिएको छ । महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार खाँडादेवी फेरि बेरुजुमा सबैभन्दा अगाडि देखिएको हो । खाँडादेवीको १ अर्ब ४९ करोड ७२ लाख ८ हजारको लेखापरीक्षण हुँदा ९ करोड ९७ लाख ९० हजार अर्थात ६ दशमलव ६७ प्रतिशत बेरुजु देखिएको छ । यस अघिको वर्ष १ अर्ब ४७ करोड ८५ लाख ३ हजारको लेखापरीक्षण हुँदा ९ करोड २९ लाख १३ अर्थात ६ दशमलव २ प्रतिशत बेरुजू देखिएको थियो ।
यस्तै सबैभन्दा कम बेरुजु दोरम्बा गाउँपालिकाको देखिएको छ । १ अर्ब ३२ करोड चार लाख ३० हजारको लेखापरीक्षण हुँदा २० लाख मात्रै अर्थात ० दशमलव १५ प्रतिशत बेरुजू देखिएको हो । यस अघिको वर्ष १ अर्ब २२ करोड ४४ लख ७५ हजारको लेखापरिक्षण गर्दा ४ करोड ६६ लख ७८ हजार अर्थात ३ दशमलव ८१ प्रतिशत बेरुजू देखिएको थियो ।
उमाकुण्ड गाउँपालिकाको १ अर्ब ३६ करोड १३ लाख ४४ हजार रकमको लेखापरीक्षण भएकोमा ५ करोड १३ लाख ४७ हजार अर्थात ३ दशमलव ७७ प्रतिशत बेरुजु देखिएको छ । यस्तै गोकुलगंगा गाउँपालिकाको १ अर्ब ३९ करोड ७५ लाख ८८ हजारको लेखापरीक्षण गर्दा १ करोड ९६ लाख ६३ हजार अर्थात १ दशमलव ४१ प्रतिशत मात्रै बेरुजु देखिएको छ ।
लिखुतामाकोशी गाउँपालिकाको १ अर्ब ५१ करोड ८४ लाख ९१ हजारको लेखापरीक्षण हुँदा १ करोड ७० लाख ४४ हजार अर्थात १ दशमलव १२ प्रतिशत बेरुजू देखिएको छ । त्यस्तै मन्थली नगरपालिकाको २ अर्ब २५ करोड १३ लाख १८ हजारको लेखापरीक्षण हुँदा १ करोड ८८ लाख ४० हजार अर्थात ० दशमलव ८४ प्रतिशत बेरुजु देखिएको छ ।
सुनापति गाउँपालिकाको १ अर्ब २९ करोड ४५ लाख ११ हजारको लेखापरिक्षण हसँदा ३४ लाख ५८ हजार अर्थात ० दशमलव २७ प्रतिशत बेरुजु देखिएको छ । रामेछाप नगरपालिकाको १ अर्ब ८८ करोड ८९ लाख ६५ हजारको लेखापरीक्षण हुँदा ४० लाख ७७ हजार अर्थात ० दशमलव २२ मात्रै बेरुजु देखिएको छ ।
महालेखापरीक्षकको ६१औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका ८ स्थानीय तहको १२ अर्ब ५३ करोड ९८ लाख ५५ हजार रुपैयाँ रकमको लेखापरीक्षण भएकोमा २१ करोड ६२ लाख १९ हजार रुपैयाँ रकम बेरुजू देखिएको छ ।
अघिल्लो वर्षको तुलनामा भने यसपटक रामेछापको स्थानीय तहको बेरुजु घटेको छ । अघिल्लो वर्ष ३७ करोड ७९ लाख ७ हजार रहेकोमा यो वर्ष उक्त रकमबाट घटेर २१ करोड ६२ लाख १९ हजार रुपैयाँ मात्रै बेरुजु देखिएको हो ।