विपक्षी दलको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट सोमबार विश्वासको मत लिएका छन्।
प्रधानमन्त्री दाहालले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे। प्रस्तावको पक्षमा मत १५७ परे। विपक्षमा मत परेनन् भने एक जना तटस्थ बसे। मत विभाजनमा १५८ सांसद सहभागी थिए।
उनलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदले मत दिएका हुन्।
प्रतिनिधि सभाको बैठक शुरू हुने वित्तिकै नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेपाल, राष्ट्रिय जनमोर्चा लगायत विपक्षी दलले विरोध जनाएका थिए। उनीहरूको विरोधबीच पनि सभामुख घिमिरेले बैठक सञ्चालन गरेका थिए।
त्यसपछि कांग्रेस लगायत विपक्षी दलका सांसदले ‘वेल’मा गएर नाराबाजी गरेका थिए। तथापि, सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्न प्रधानमन्त्री दाहाललाई समय दिएका थिए।
नाराबाजीबीच नै प्रधानमन्त्री दाहालले प्रस्ताव पेश गरेका थिए। त्यसमाथिको छलफल पनि नाराबाजीकै बीच चलेको थियो। छलफलका क्रममा एमाले सांसद विष्णु पौडेलले बोलेका थिए । सत्तारुढ दलकै अन्य सांसदले भने छलफलमा भाग लिएनन्।
नाराबाजी र विरोधबीच नै मत विभाजन भएको थियो। त्यसमा सत्तारुढ दलका सांसद सहभागी भए पनि विपक्षी दलका सांसदले नाराबाजी गरिरहे ।