काठमाडौँ । उपनिर्वाचनअन्तर्गत बझाङ १ नम्बर प्रदेश सभाको मतगण्ना बिहान १० बजेबाट सुरु हुने भएको छ ।
प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले दिएको जानकारी अनुसार आइतबार बिहानै साइपाल गाउँपालिकाका तीन वटा मतदान केन्द्रका मतपेटीका दुई पटक हेलिकप्टरमार्फत् ल्याइएको छ ।
उनका अनुसार अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ।
बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा शनिवार भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत मत खसेको थियो। त्यहाँ ६१ हजार ७ सय ४८ मतदाता रहेकोमा ३० हजार ३ सय २८ जनाले मात्रै मतदान गरेका थिए।
यसअघि त्यहाँ नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह प्रदेश सभा सदस्यमा विजयी भएका थिए। मन्त्री बनेपछि गृह जिल्ला फर्किंने बेला उनी सवारी दुर्घटनामा परेर निधन भएको थियो।
बझाङ–१ मा विभिन्न दलका ११ जना उम्मेदवार छन्। नेकपा (एमाले)बाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, माओवादी केन्द्रबाट जनकबहादुर बुढा, राप्रपाबाट किशोरकुमार खड्का, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, नेमकिपाबाट खगेन्द्र बहादुर शाही, जनमत पार्टीबाट सुशीलादेवी विष्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, जनता समाजवादी पार्टीबाट रामबहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा उम्मेदवार छन्।