जनकपुर । जनकपुरको रामानन्दचोकमा रहेको होटल होलिडे एन्ड गेष्ट हाउसमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
मंगलवार बिहान होटलको कोठा नम्बर २०५ मा महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र महोत्तरीको लोहारपट्टी नगरपालिका –४ खट्टाकी २५ वर्षीया प्रियंका कापर दुवै जना झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।
कोठाभित्र बच्चा रोइरहेको आवाज सुनेपछि होटलका कर्मचारीले झ्यालबाट हेर्दा दुई वयस्कहरू झुन्डिएको अवस्थामा देखे पछि प्रहरीलाई खबर गरेका थिए ।
धनुषाको प्रहरी टोलीले घटनास्थलमा पुगेर ढोका फोडेर बालिकालाई बाहिर निकालेको थियो । प्रहरीका अनुसार साढे २ वर्षकी बालिका प्रियंकाकी छोरी हुन् ।
उनीहरू विगत चार दिनदेखि सोही होटेलमा बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको अवाले बताए ।