एमालेले केन्द्रीय सचिवालय बैठक बोलाउने तयारी सुरु गरेको छ । तीन दिनभित्र सचिवालयको बैठक बोलाउनका लागि गृहकार्य गर्न बुधबार बसेको केन्द्रीय कार्यालय बैठकमा सम्भावित एजेन्डाबारे अनौपचारिक छलफल भएको छ ।
बैठकमा आगामी १५ वैशाखमा आयोजना हुने उपनिर्वाचनमा पार्टीले उठाउने उम्मेदवार, ८, ९ र १० वैशाखमा बोलाइएको केन्द्रीय परिषद् बैठक र पार्टी स्थापना दिवस तथा जिल्ला अधिवेशनलगायत विषयलाई सचिवालय बैठकको एजेन्डा बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।
‘एजेन्डाबारे अनौपचारिक छलफल भएको छ, तर सचिवालय बैठकको मिति तय भइसकेको छैन, सम्भवतः तीन दिनभित्रै बैठक बस्छ,’ उनले भने, ‘त्यो बैठकले उपचुनावको उम्मेदवार पनि तय गर्नेछ ।’
एमालेले ५ चैतभित्र इलाममा हुने प्रतिनिधिसभा निर्वाचन र बझाङमा हुने प्रदेश सभा निर्वाचनको उम्मेदवार केन्द्रमा सिफारिस गरिसक्न निर्देशन दिएको थियो । केन्द्रको निर्देशनअनुसार नाम आइसके पनि अहिलेसम्म त्यसबारे छलफल सुरु नभएको अधिकारीले बताए ।